प्रदेश ७

प्रेम दिवसको उपलक्ष्यमा प्रेमका केही कुरा

राम लोहनी /

पश्चिमा पुराकथामा क्युपिडलाई प्रेमको देवता मानिन्छ। सामान्यत: क्युपिडलाई युवक भन्दा पनि केटाकै रूपमा प्रस्तुत गरेको पाइन्छ। यो केटाको दुईवटा पखेटा पनि हुन्छन् र हातमा एउटा वाण। र हुन्छ आँखामा पट्टि बाँधिएको। यसलाई प्रतीकात्मक रूपमा love is blind को अर्थमा बुझ्‍ने गरेको पाइन्छ। प्रेमीहरू आँखाले हेर्दैनन्, मन (मुटु) ले हेर्छन् भन्ने अर्थ पनि लगाउन सकिन्छ। पखेँटाले प्रेम चुलबुले र अस्थित हुन्छ भन्ने र केटौले उमेरले प्रेम तर्कातित (irrational) भन्ने अर्थ लाग्छ। आफ्ना मन परेका मानिसलाई क्युपिडको वाणले प्रहार गरेपछि, त्यो व्यक्ति प्रेमवाणले पिडित हुन्छ, विह्वल हुन्छ। एक प्रकारले भन्दा यो एक प्रकारको मुहुनी मन्त्र नै हो, मुहुनी लागेपछि लाग्यो, लाग्यो। क्युपिडको वाण दुई प्रकारको हुन्छ – सुनको तर तिखो र सिसाको तर वोधो। आकर्षणको लागि सुनको वाण र विकर्षण र विरहको लागि सिसाको वाणको प्रहार हुन्छ।

क्युपिडको प्रेमकथा पनि बेजोडको छ। क्युपिड साइकी (psyche) सँग प्रेममा परेको, विछोड भएको र अन्तमा उनीहरूको मिलन भएको कथा हो यो। क्युपिड देव वंशको भएकोले अमर थियो, तर साइकी चाहिँ मरणशील मानव। साइकी असाध्यै सुन्दरी युवती थिई। साइकीको सुन्दरताले सुन्दरताकी देवी भिनसलाई ईर्श्या भयो। भिनस ग्रिक देवी अफ्रोडाइटकी रोमन संस्करण हो। ग्रिक पुराकथामा अफ्रोडाइटलाई सुन्दरताकी देवी मानिन्थ्यो। क्युपिड चाहिँ भिनसको छोरा हो। भिनस साइकीलाई यमलोकको दवता प्लुटोसँग विवाह गराइदिएर यमलोक अर्थात पातालतिर पठाउन चाहन्थी। भिनसले क्युपिडलाई साइकीलाई प्लुटोको प्रेममा पर्ने मन्त्र गरेर वाण प्रहार गर्ने निर्देशन दिएर पठाएकी थिई। तर जब क्युपिडले साइकीलाई देख्यो, ऊ आफै साइकीसँग प्रेममा पर्‍यो। क्युपिड साइकीलाई भेट्न राति राति अँध्यारोमा आमाले थाहा नपाउने गरी जान्थ्यो। वास्तवमा क्युपिड एकदमै सुन्दर थियो। साइकीले उसलाई देख्ली र हल्ला गरिदेली भनेर पनि डराएको थियो। त्यसैले साइकीलाई उसले आफू आएको बेलामा बत्ती नबाल्न अनुरोध गरेको थियो। क्युपिड रातभर साइकीसँग रहन्थ्यो र विहान फर्कन्थ्यो। सम्भवत: यसकै प्रभाव हुनुपर्छ समागम दिनको उज्यालोमा गर्नुहुँदैन भन्ने अवधारणा। यौन समागमलाई अँध्यारोमा सीमित राख्‍नु पर्ने पूर्बीय मान्यता पनि छ। शारीरिक आवगले शरिरको सुन्दरतालाई हैन, मनको सुन्दरतालाई महत्व दिन्छ भन्ने अर्थ निकाल्न पनि सकिन्छ। शरीर सुन्दर हुनु र नहुनुले शारिरिक सम्बन्धलाई प्रभाव पार्दैन, जति प्रभाव मानसिक अवस्थाले पार्छ।

साइकीका बहिनीहरूलाई क्युपिडको सुन्दरताको डाह लाग्यो र साइकीलाई ‘यो केटा त भयङ्कर कुरुप छ’ भनेर उक्साइदिए। हो न हो, साइकीलाई त्यो पत्यार लाग्यो र एक रात क्युपिड निदाएपछि साइकीले बत्ती बालेर हेरी। क्युपिडको सुन्दरता र बहिनीहरूको दुष्टताले उसको हात थर्थरायो। बत्तीबाट एक थोपा तेल चुहिएर क्युपिडको शरीरमा पर्‍यो। क्युपिड ब्युँझियो। अविश्वास गरेको र वाचा तोडेको भनेर क्युपिड त्यसै क्षण उठेर वेपत्ता भयो, फर्किँदै फर्केन। क्युपिडको विछोडको वेदनाले साइकीलाई विरहिणी तुल्यायो। क्युपिडलाई खोज्दै खोज्दै सर्वत्र पुगी, तर कहिँ भेटिन। अन्तमा केही सिप नलागेर भिनसको शरणमा पुगी साइकी। भिनसलाई साइकीसँग बदला लिनु थियो। विभिन्न अप्ठेरा काम लगाएर अल्झाएर दु;ख दिइरही भिनसले। एक दिन भिनसले यमलोकबाट प्रोसर्पिनाको सुन्दरताको एक मात्रा लिएर आउन अराई। प्रोसर्पिना पनि यमलोकको देवताले अपहरण गरेर लगेको असाधारण सुन्दरी थिई। बट्टामा बन्द गरेर आफूले के ल्याएकी हो भन्ने साइकीलाई थाहा थिएन। खुल्दुली भयो। बट्टा उघारेर हेरी। बट्टामा बन्द गरेर पातालबाट ल्याएको प्रोसर्पिनाको सुन्दरताको एकै मात्राले साइकीलाई गहिरो निद्रामा पुर्‍याइदियो। र एक दिन क्युपिडले साइकीलाई गहिरो निद्रामा रहिरहेको अवस्थामा भट्टायो। क्युपिडले साइकीलाई निद्रा लगाउने प्रोसर्पिनाको सुन्दरतालाई बट्टामै बन्द गरिदियो र आफूजस्तै अमर हुने वरदान पनि दियो। दुबै अमर भएपछि उनीहरूको मिलनमा कुनै अवरोध आएन। पश्चिमा प्रेम दिवस सम्भवत: साइकी ब्युँझिएर क्युपिडसँग मिलन हुन सम्भव भएको सम्झनामा हुनु पर्छ।

साइकी ब्युँझिनुको कथालाई प्रोसर्पिनाको कथासँग पनि जोड्न सकिन्छ। प्रोसर्पिना ग्रिक पुराकथाकी पात्रा पर्सिफोनको रोमन संस्करण हो। प्रोसर्पिनालाई रोमनहरूकी स्वतन्त्रताकी देवी लिबेराको अवतार पनि मानिन्छ। लिबेरा र लिबेर स्वतन्त्रताका देवी र देवता हुन्। लिबेरा कृषि र अनाजकी देवी सिरिज (ceres) को छोरी हो। पर्सिफोनलाई ग्रिकहरू कृषिकै देवी डिमिटरकी छोरी मान्थे। प्रोसर्पिनालाई पाताल (यमलोक) को राजा / देवता प्लुटो (यम) ले अपहरण गरेर लगेको थियो। यो घटनालाई प्रोसर्पिनाको बलात्कार (पर्सिफोनको बलात्कार) भनेर कथामा उल्लेख गर्ने गरेको पाइन्छ। छोरी हराएपछि सिरिज धेरै दु:खी भइन्, धुइँपत्ताल खोजिन्, तर कतै फेला परिन। सिरिजले पृथ्वीमा वनस्पतिको वृद्धिलाई अवरुद्ध गरिदिइन् र नाङ्गा खुट्टाले नै पृथ्वी चहार्न थालीन्। सिरिजले टेकेको जति ठाउँ बाँझो पल्टिन थाल्यो, मरुभूमिको रूपमा परिणत भयो। सिरिज ओलम्पस पहाडमा पनि फर्किन मानिनन्। ओलम्पस देवदेवीको बासस्थान थियो।

सिरिजको व्यवहारले सर्वत्र हाहाकार मच्चियो। आकाशका देवता जुपिटर (वृहस्पति) ले कुरा मिलाउनको लागि बुधलाई प्लुटो (यम) कहाँ पठाए। यम प्रोसर्पिनालाई फिर्ता पठाउन चाहँदैनथ्यो। तर वृहस्पतिको आदेश काट्न सक्ने शक्ति उसमा थिएन। त्यसमा उसले चालबाजी खेल्न खोज्यो। भनिन्छ, प्रोसर्पिनालाई पृथ्वीमा फिर्ता पठाउनुअघि छ दाना अनार खान दियो। यमलोकको खाना खाएपछि यमलोकबाट फिर्ता आउन सम्भव हुने थिएन।

छ दाना अनार खुवाएर यमले प्रोसर्पिनालाई वर्षको छ महिना चाहिँ यमलोकमै बस्‍न बाध्य बनाउने षडयन्त्र रचेको थियो। तर प्रोसर्पिनाले चार दाना मात्र अनार खाई। प्रोसर्पिना फर्केपछि धरतिमा फेरि हरियाली छाउन सुरु भयो। प्रोसर्पिना फर्केको समयलाई वसन्तको आगमन मानिन्छ। वसन्त आगमनको उत्सव नै पश्चिममा प्रेम दिवस हुन सक्ने देखिन्छ। लगभग यही समयमा पूर्बमा पनि मदन उत्सव मनाइन्छ। चार दाना अङ्गुर खाएकीले प्रोसर्पिनालाई चार महिना चाहिँ यमलोक जानै पर्ने भयो। शरद ऋतुको समाप्तिसँगै प्रोसर्पिना यमलोक जान्छिन् भन्ने प्रस्तुत कथाको भाव हो। शरद ऋतुमा वनस्पतिका पातहरू राता, पहेँला हुने गर्छन्। वनस्पतिको यो रङलाई प्रोसर्पिनाको पातालको लागि बिदाइको रूपमा अर्थ्याइन्छ। रातो, पहेँलो प्रोसर्पिनाको मन पर्ने रङ हो। प्रोसर्पिना चार महिना यमलोकमा बसुन्जेल धरति सुख्खा, ठन्डा रहन्छ, जमिन बन्जर रहन्छ। वनस्पतिमा हरियाली आउँदैन, कृषि कर्म आदि हुँदैन, जमिन बाँझै बस्छ। प्रोसर्पिनाको आगमनसँगै फेरि वसन्त बहार आइहाल्छ।

र, पूर्बमा, हाम्रोतिर, वसन्तउत्सवमा मदनदेव अर्थात मन्मथ अर्थात कामदेवको स्मरण गरिन्छ। त्यो उत्सवलाई मदनोत्सव पनि भनिन्छ। फागु पूर्णिमा मदनोत्सवको पर्व हो। हाम्रा कामदेव पनि वाण लिएका र आफ्नी अर्धाङ्गिनी रतिसँग उपस्थित हुन्छन्। कामदेवको वाणलाई कामवाण भनिन्छ। रति पनि कामदेवको जस्तै वाण भिरेर रहन्छिन् भन्ने मान्यता छ। यिनले ज-जसलाई वाण प्रहार गर्छन्, तिनको मन प्रमको ज्वालाले दग्ध हुन थाल्छ। मनलाई मथेर प्रेम मिलनको लागि हुटहुटी जगाइदिने हुनाले कामदेवलाई मन्मथ भनिएको हो।

कामदेवको बाहन सुगा हो। सुगा चराहरूमा अब्बल दर्जाको प्रेमी चरो हो। सुगासुगीको जोडी अनुपम जोडी मानिन्छ। यिनीहरू नमरुन्जेल एक अर्कालाई त्याग्दैनन्। कतिसम्म भने आफूलाई पाल्ने मालिकलाई पनि सुगाले कहिल्यै त्याग्दैन, परमभक्त रहन्छ। सुगासुगीको प्रेमालाप र समागम पनि अनुकरणीय मानिन्छ। यस्तो आदर्श सुगा कामदेवको वाहन हुनु पूर्बीय मिथको अर्को रहस्य हो।

सुगाको बारेमा एउटा रमाइलो कुरा पनि सान्दर्भिक हुन्छ। सुगाको भालेपोथी निर्धारण गर्ने क्रोमोजोम पोथीमा हुन्छ, भालेमा हुँदैन। मानवलगायत धेरै प्राणीमा भाले निर्धारण गर्ने क्रोमोजोम Y पुरुष (भाले) मा हुने गर्छ। XX र XY भनेर स्त्री (पोथी) र पुरुष (भाले) निर्धारण गर्ने क्रोमोजोम जस्तै सुगाजस्ता केही प्राणीमा ZZ र ZW क्रोमोजोम हुन्छन्। भालेमा ZZ र पोथीमा ZW क्रोमोजोम रहन्छ। X र Y क्रोमोजोममा X ठूलो आकारको भएजस्तै Z र W मा Z चाहिँ ठूलो आकारको हुन्छ र स्वाभाविक रूपमा कम गतिशील हुन्छ X जस्तै। भाले सुगाको लिङ्ग निर्धारण गर्ने क्रोमोजोम स्थिर प्रकृतिको भए पनि प्रेम निवेदनमा भने भाले नै अगाडि सर्ने गरेको देखिन्छ। टाउको झुकाउँदै अगाडि बढेर राखेको प्रेम निवेदन स्वीकार गरेको कुरा पोथीले पनि टाउको निहुरराएर अगाडि आएपछि प्रष्ट हुन्छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button