विचार ब्लग

प्रचण्डलाई खुलापत्र

कमल कोईराला /

प्रिय कमरेड !
मनमुटुभरि महत्त्वाकाङ्क्षी सपनासहित हजारौँ कर्मठ पाखुराहरूलाई जबर्जस्ती बन्दुक भिराएर कथित जनयुद्ध प्रारम्भ गरेको आज ठ्याक्कै चौबीस वर्ष पूरा भएछ । शिक्षाको पवित्र ज्ञानगङ्गामा घोत्लिँदै कलमले कापीमा आफ्ना सपना सजाउने उमेरका हजारौँ विद्यार्थीलाई भयङ्कर ठूला कर्णप्रिय आश्वासन देखाउँदै सिङ्गो मातृभूमिलाई युद्धको विभीषिकामा होमेको पनि कति छिट्टै दुई सय अठासी महिना सकिएछन् । आफूहरूले भनेजति चन्दा असुल्न नपाए टाउको झोलामा जिउ खोलामा बनाइदिने ध्वाँस देखाउँदै सदैव कञ्चन पानी बग्ने खोल्सामा रगतको भल बगाउने दिनहरूको औपचारिक उद्घाटन गरेको पनि आठ हजार सात सय साठी दिन बितेछन् । बाटैमा एम्बुस थापेर सिङ्गो बस्तीलाई नै निर्जन बस्तीमा रूपान्तरण गराउने अभियानको पाइलो चालेको तथा बिहान बाबु र बेलुकी त्यही घरकी आमाको बीभत्स हत्या गरेर तिनका आश्रित परिवारजनलाई सदाका लागि टुहुरा बनाएर छाडिदिने दिनहरूको श्रीगणेश गरेको पनि उत्तिकै समय भएछ ।
कमरेड ! यहाँहरूको आफ्नै परिभाषाको महान् जनयुद्ध दिवस मनाउने क्रममा सायद आज यहाँ धेरै कार्यक्रममा सहभागी हुनुहुँदै होला । ती कार्यक्रममा उपस्थित भएर देब्रे मुड्की उज्याउँदै गर्दा सायद यहाँका स्मृतिपटलमा विगतका ती बीभत्स युद्धकालीन दृश्यावलीहरू अवश्य सलबलाए होलान् । परिवारका सदस्यलाई खाँबामा बाँधेर सामुन्नेमा बाबुलाई छप्काएको दृश्य नाच्यो होला । सिउँदो पखालिएकी नारीको आर्तनाद कानमा गुन्जियो होला । अङ्गभङ्ग भएका हजारौँ निर्दाेष नेपालीको चित्कारले झस्कायो होला । विद्यार्थीलाई साक्षी राखेर शिक्षक काटेको क्षण सलबलायो होला । खाल्डो खनेर जिउँदै पुरिएका पत्रकार डेकेन्द्र थापाको नृशंस हत्या याद आयो होला । बस्ती नै निमिट्यान्न हुने गरी गाउँशून्य बनाएर माडीमा धराप बिछ्याएको क्षणले चसक्क घोच्यो होला । चन्दा नदिएको अभियोगमा भाटे कारबाही गरेर कयौँ सोझा गाउँलेहरूको ढाड कहिल्यै नसोझिने गरी खुस्क्याइदिएको घटनाले अवश्य चिमट्यो होला ।

कमरेड ! युद्धका सार्वभौम अनुशासनको परिधिमा अनुबन्धित रहेर कथित जनयुद्धका पूर्वनिर्दिष्ट उद्देश्य पूर्ण नहुने ठहर गरी क्रान्तिलाई अधुरै छाडेर यहाँहरू शान्तिप्रक्रियामा आउनुभयो । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि भन्नुभयो, ‘क्रान्तिका अधुरा काम संसद् र सरकारबाट पूरा गरिनेछन् ।’ तपाईँहरूका क्रान्तिकारी नारा सुनेर सोझा जनताले नेकपा माओवादीलाई २०६४ को संविधानसभा निर्वाचनमा बहुमत दिएर पठाए पनि । तर, देशलाई झन्झन् अस्थिरताको पर्यायवाची बनाउँदै सङ्कटको चौबाटामा पुर्याएर ठिङ्ङ उभ्याइदिनुभयो । पछि अवसर पाउँदा पनि आफ्नै अकर्मण्यताले असफल भएर मुखमा बुजो लागेपछि फेरि कुर्लनुभयो– ‘हामी अल्पमतमा पर्याैँ । हामीसँग देश रूपान्तरण गर्ने जनमत भएन । दुई तिहाइ मत दिनुहोस् । हामी देशलाई कायापलट गरेर देखाइदिन्छौँ’ भन्नुभयो । एकीकृत माक्र्सवादी लेनिनवादीसँग पार्टी एकीकरण गर्नुभयो । जनताले विश्वास गरेर दुई तिहाइ पनि दिए । तर खोइ तपाईँको सत्ता र संसदारोहणले जनतालाई अभाव, छट्पटी, पीडा, अनिश्चय, महँगी, बेरोजगारी, घृणित जातीय विद्वेष र साम्प्रदायिकताभन्दा बढी के दिन सक्यो ?
विडम्बना नै भन्नुपर्छ ! सर्वहारा वर्गको नेता हुँ भन्दै राजधानीको आलिसान महलमा बसी जेल घसेको कपाल सर्लक्क कोरेर दिनानुदिन भुँडीको आकार बढाउँदै सबैभन्दा महँगो पजेरोमा सयर गर्ने दैनिकी बनाएर आफ्ना प्रतिज्ञालाई पलभरमै पोलेर खाइदिनुभयो यहाँले । माओवादीका अधिकांश नेताहरू तपाईँकै जीवनशैलीका अनुयायी बने । सर्वहारा वर्गको नेता हुँ भन्ने तपाईँलाई नै परिस्थितिले सहरिया र सुकिलोमुकिलोमा रूपान्तरण गरिदियो । तर कमरेड ! ‘आफ्नो आङको भैँसी नदेख्ने अर्काको आङमा भने नभएको जुम्रो पनि छ कि भनेर आशङ्का गर्ने’ भनेजस्तै तपाईँका दिग्भ्रमित आँखाले सदैव अरूलाई मात्र शोषक, सामन्त, दलाल र पुँजीपति देखे ।
कमरेड ! यसो इतिहास सम्झनुहोस् त वास्तविक सामाजिक क्रान्ति तपाईँको राजनीतिक उद्देश्य र जनकल्याण अभीष्ट हुन्थ्यो भने बाँकी रहेको कुन स्वार्थ परिपूर्ति गर्न यहाँको पार्टी फुटेर तीन टुक्रा हुन्थ्यो ? तपाईँको जातीय ढिटले अघिल्लो संविधानसभा त्यसै तुह्यो । समयमै देशलाई निकास दिएर समृद्धिको यात्रा तय गर्ने योजना तपाईँहरूकै साम्प्रदायिक मुद्दाका कारण निरर्थक बन्यो । सदियौँदेखि अनेकताभित्र एकताको मन्त्र जपेर बसिरहेका बहुसङ्ख्यक नेपाली जातीय राज्यको अवधारणाका विपक्षी छन् भन्ने कुरा नबुझेको हो कि कुत्सित राजनीतिक स्वार्थपूर्तिका लागि बुझपचाएजस्तो गरेको हो यहाँहरूले ? निकै लामो समयसम्म यहाँको राजनीतिक अन्तर्य बुझ्नै सकिएन ।
कमरेड ! २००७ सालमा नेपाली काङ्ग्रेसले सशस्त्र क्रान्ति गर्याे । तर क्रान्ति प्रारम्भ भएको दिनलाई उसले कहिल्यै दिवसका रूपमा मनाएन । बरु सफल भएको फागुन ७ लाई प्रजातन्त्र दिवसका रूपमा मान्यो । २०४६ मा पनि आन्दोलन सफल भएको चैत्र २६ लाई नै जनआन्दोलन दिवस मानियो । तपाईँकै नेतृत्वमा २०५२ फागुन १ मा कथित जनयुद्ध प्रारम्भ भयो । तर बाह्र वर्षपछाडि अर्थात् २०६३ मङ्सिर ५ गते सम्पन्न विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको दिनलाई किन दिवसका रूपमा मनाउने उदारता प्रस्तुत गर्न सक्नुभएन यहाँहरूले ? तपाईँहरूमा युद्धको धङधङी अझ पनि जीवित छ भन्ने कुरा द्योतन गर्ने एउटा सानो दृष्टान्त मात्र हो यो । त्यसबाहेक तत्कालीन संविधानसभा भवनमा यहाँहरूद्वारा प्रदर्शित विध्वंसात्मक चर्तीकलाका ताजा दृश्यहरू त जनताका आँखामा सल्बलाएकै छन् । कमरेड ! आफूलाई जनअनुमोदत प्रतिनिधि ठान्ने हो भने युद्धोन्मादले भूत चढेको अतीतकालीन मनस्थिति त्यागेर शीघ्रातिशीघ्र राष्ट्रिय समृद्धिको फराकिलो लोकमार्गमा देश बनाएरै छाड्ने आफ्ना योजनाको व्यावहारिक कार्यान्वयनमा अग्रसर हुनुहोस् । यसैमा देश र जनताका कल्याणका साथै यहाँहरूको राजनीतिक भविष्य पनि सुरक्षित हुनेछ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button