समाज

राजधर्मको महिमा- महाभारत चिन्तन ९५

डा. मतिप्रसाद ढकाल – सबैले सम्झाएपछि युधिष्ठिरले मानसिक र शारीरिक दुःखलाई त्यागिदिन्छन् र नगरमा प्रवेश गर्छन् । नगरप्रवेश गर्दा युधिष्ठिरमाथि ‘आफ्ना भाइबन्धुहरू विनाश गर्ने तिमी दुष्ट राजा जीवित रहनुभन्दा मर्नु नै श्रेयस्कर छ’ भनी आक्षेप लगाउने दुर्योधनको मित्र चार्वाक्लाई ब्राह्मणहरूले मारिदिन्छन् । युधिष्ठिरको राज्याभिषेक हुन्छ र उनले धृतराष्ट्रको अधीनमा रहेर राज्यको व्यवस्थाका लागि भाइहरू तथा अन्य व्यक्तिलाई विभिन्न कार्यमा नियुक्त गर्छन् । धृतराष्ट्र र यधिष्ठिर दुवै मिलेर युद्धमा मारिएका आफ्ना नातेदार र अन्य राजाहरूको श्राद्ध कर्म गर्छन् । त्यसपछि युधिष्ठिरले श्रीकृष्णको स्तुति गर्छन् । श्रीकृष्णले भीष्मको प्रशंसा गर्दै युधिष्ठिरलाई भीष्मका सामु जान आदेश दिन्छन् । भीष्मले पनि श्रीकृष्णको स्तुति गर्छन् भने श्रीकृष्णले पनि भीष्मको प्रशंसा गर्दै उनलाई युधिष्ठिरका लागि धर्मोपदेश गर्ने आदेश दिन्छन् । परन्तु भीष्मले आफ्नो असमर्थता प्रकट गर्छन् । त्यसपछि श्रीकृष्णले भीष्मलाई वरदान दिन्छन् । भीष्मले युधिष्ठिरका गुणहरूको कथन गर्दै उनलाई प्रश्न गर्ने आदेश दिन्छन् । श्रीकृष्णले भीष्मसमक्ष युधिष्ठिर लज्जित र भयभीत हुनुको कारण बताउँछन् । भीष्मको आश्वासन पाएर युधिष्ठिर भीष्मका नजिक जान्छन् । युधिष्ठिरले सोधेपछि भीष्मले राजधर्मको वर्णन गर्छन् ।

राजनीति गर्नेहरू सदैव पुरुषार्थका लागि प्रयत्नशील रहनुपर्छ, पुरुषार्थविना केवल प्रारब्धले राजनेताहरूको प्रयोजन सिद्ध गर्न सक्तैन । ‘साधारणद्वयं ह्येतद् दैवमुत्थानमेव च, पौरुषं हि परं मन्ये दैवं निश्चितमुच्यते’ (महाभारत, १२।५६।१५) अर्थात् यद्यपि कार्यको सिद्धिमा प्रारब्ध र पुरुषार्थ दुवै साधारण कारण मानिन्छन् तथापि मैले पुरुषार्थलाई नै प्रधान ठान्छु किनभने प्रारब्ध त पहिलेदेखि नै निश्चित बताइएको छ । त्यसैले यदि प्रारम्भ गरिएको कार्य पूरा हुन सकेन अथवा त्यसमा बाधा–व्यवधान आइपुग्यो भने त्यसका लागि दुःखित हुनुपर्दैन । सदैव आपूmलाई पुरुषार्थमा नै प्रवृत्त गराइराख्नु राजनेताहरूको सर्वोत्तम नीति हो । ऋषिहरूको जस्तै राजनेताहरूको पनि सत्य नै परम धन वा साधन हो, जसका आधारमा प्रजावर्गमा विश्वास उत्पन्न गराउन सकियोस् । जुन राजनेताले सदैव कोमल व्यवहार गर्छ, त्यसको आज्ञालाई प्रजाहरूले उल्लङ्घन गर्न सक्छन् र जसले कठोर व्यवहार गर्छ त्यस्ता राजनेताबाट पनि प्रजाहरू दुःखित हुन्छन् । त्यसैले प्रत्येक राजनेताले प्रजावर्गसँग आवश्यकतानुसार कठोर र कोमल दुवै किसिमको व्यवहार गर्नुपर्छ ।

राजनेताले ब्राह्मणलाई कहिल्यै दण्ड दिनुहुँदैन किनकि संसारमा ब्राह्मण नै सर्वश्रेष्ठ प्राणी मानिन्छ । ‘अद्भ्योऽग्निब्रह्मतः क्षत्रमश्मनो लोहमुत्थितम्, तेषां सर्वत्रगं तेजः स्वासु योनिषु शाम्यति’ (पूर्ववत्, १२।५६।२४) अर्थात् आगो पानीबाट, क्षत्रिय ब्राह्मणबाट र फलाम पत्थरबाट प्रकट भएका हुन्, यिनको तेजले अन्य सबै ठाउँमा त आफ्नो प्रभाव देखाउँछन् तर आफूलाई उत्पन्न गर्नेसँग टक्कर लिँदा आफै दुर्बल हुन्छन् । त्यसैले क्षत्रिय राजनेताले ब्राह्मणसँग द्वेष गर्न हुँदैन । यदि ब्राह्मण नै विनाश गर्न उद्यत भएका खण्डमा भने क्षत्रिय राजनेताले आफ्नो बाहुबलले उनीहरूलाई सदैव नियन्त्रणमा राख्नुपर्छ र प्राणदण्ड नदिई राज्यको सीमाबाट बाहिर लगेर छाडिदिनुपर्छ तर ब्रह्महत्या, गुरुस्त्रीगमन, भ्रूणहत्या र राजद्रोहको अपराध भएमा पनि ब्राह्मणलाई शारीरिक दण्ड दिनु हुँदैन देशनिकाला नै गर्नुपर्छ ।

प्रत्येक राजनेताले शिकार, जुआ, दिवाशयन, परस्त्रीनिन्दा, स्त्रीसेवन, मद, वाद्य, गीत र मदिरापान यी १० प्रकारका कामज व्यसन तथा चुक्ली, साहस, द्रोह, ईष्र्या, असूय, अर्थदूषण, वाणीको कठोरता र दण्डको कठोरता यी ८ प्रकारका क्रोधज व्यसनहरूको सर्वथा परित्याग गर्नुपर्छ तर शत्रुमाथि विजय प्राप्त गर्ने सन्दर्भमा भने साहस आदिको उपयोग गर्नुपर्दछ । जसरी गर्भवती स्त्रीले आपूmलाई मनपर्ने भोजन आदिको परित्याग गरेर केवल गर्भस्थ बालकका हितको ध्यान राख्छन् तदनुरूप हरेक राजनेताले पनि जनताको हित हुने किसिमको व्यवहार गर्नुपर्छ । त्यसैगरी हरेक राजनेताले धैर्यधारण गर्न तथा राष्ट्रसेवकका साथ ख्यालठट्टा गर्नु हुँदैन किनभने यसले गर्दा राष्ट्रसेवकहरू राजनेताको अपमान गर्न अग्रसर हुन्छन् र राजनेताको आज्ञालाई शिरोपर गर्नबाट विमुख हुन्छन् ।

‘प्रशस्यते न राजा हि नारीवोद्यमवर्जितः’ (पूर्ववत्, १२।५७।१) अर्थात् जो उद्योग वा पुरुषार्थ छाडेर स्त्रीजस्तै निरर्थक बस्छन् त्यस्ता राजा वा राजनेता प्रशंसित हुँदैनन् । ‘द्वाविमौ ग्रसते भूमिः सर्पो बिलशयानिव, राजानं चाविरोद्धारं ब्राह्मणं चाप्रवासिनम्’ (पूर्ववत्, १२।५७।३) अर्थात् जसरी सर्पले प्वालमा रहने मूसालाई आफ्नो आहारा बनाउँछ त्यसरी नै अर्कासँग नलड्ने राजा र विद्याध्ययन आदिका लागि घर छाडेर अन्यत्र नजाने ब्राह्मणलाई पृथ्वीले निलिदिन्छिन् वा पुरुषार्थहीन भएर त्यस्ता राजा र ब्राह्मणको मृत्यु हुन्छ । घमण्डले भरिएर कर्तव्य र अकर्तव्यको ज्ञान नराख्ने तथा कुमार्गमा प्रवृत्त हुने मान्छे यदि आफ्नै गुरु भए तापनि दण्ड दिनुपर्छ भन्ने सनातन विधान छ । सगर राजाले आफ्ना जनताको इच्छानुसार आफ्नै जेठा छोरा असमञ्जालाई पनि परित्याग गरेका थिए । त्यसैले हरेक राजनेताले आफन्ती ठानेर दोषीलाई संरक्षण गर्नतिर प्रवृत्त हुनुहुँदैन र त्यागको भावना राख्न सक्नुपर्छ किनभने यस लोकमा प्रजावर्गलाई खुसी राख्न सक्नु नै हरेक राजनेताको सनातन धर्म हो, सत्यको रक्षा र व्यवहारको सरलता नै राजोचित कर्तव्य हो–
लोकरञ्जनमेवात्र राज्ञां धर्मः सनातनः ।
सत्यस्य रक्षणं चैव व्यवहारस्य चार्जवम् ।।
(पूर्ववत्, १२।५७।११)

‘उपासिता च वृद्धानाम्’ (पूर्ववत्, १२।५७।२०) अर्थात् हरेक राजनेताले वृद्ध व्यक्तिहरूको उपासना वा सेवा गर्नुपर्दछ । जसरी सन्तानहरू आफ्नो घरमा निर्भय भएर रहन्छन् त्यसरी नै जुन राज्यमा प्रजाहरू निर्भय भएर विचरण गर्छन् त्यस देशका राजनेताहरू सर्वश्रेष्ठ ठहरिन्छन् । त्यसैले हरेक जनताले सर्वप्रथम श्रेष्ठ राजनेतालाई चुन्न सक्नुपर्छ, त्यसपछि श्रीमती र त्यसपछि धन आर्जन गर्न अग्रस हुनपर्छ, राजनेताहरू लोकरक्षक भएनन् भने कसरी श्रीमती सुरक्षित हुन सक्छन् र कसरी धनको रक्षा हुन सक्छ ? अर्थात् कसैगरी पनि सुरक्षाको अनुभूति हुन सक्तैन । तसर्थ जसरी सामुद्रिक यात्रामा टुटेको नाउ वा डुङ्गाको परित्याग गरिन्छ त्यसैगरी हरेक व्यक्तिले उपदेश नदिने आचार्य वा गुरु, वेदमन्त्रको उच्चारण नगर्ने ऋत्विज वा पुरोहित, रक्षा गर्न नसक्ने राजा वा राजनेता, कठोर वचन बोल्ने श्रीमती, गाउँमै रहन चाहने गोठालो र वनमा रहन चाहने नाइलाई त्यागिदिनुपर्छ ।

सत्पुरुषहरूको सङ्ग्रह गर्नु, समयानुसार शारीरिक र आर्थिक दण्डको प्रयोग गर्नु, साधुसन्तहरूको त्याग नगर्नु, राज्यविरुद्ध गुटबन्दी गर्नेहरूमा फुट ल्याउनु, शत्रु, मित्र र मध्यस्थहरूमाथि यथोचित ध्यान पु¥याउनु, नीतिधर्मको अनुसरण गर्नु, सदैव उद्योगशील बनिरहनु, शत्रुहरूबाट सदैव सावधान रहनु आदिलाई राज्यको रक्षाका साधन मानिन्छ । देवराज इन्द्रले उद्योग वा पुरुषार्थद्वारा नै अमृत प्राप्त गरे, असुरहरूको संहार गरे एवम् देवलोकमा र इहलोकमा पनि श्रेष्ठता प्राप्त गरे । उद्योगहीन राजनेता विष नभएको सर्पजस्ता हुन् र तिनीहरू शत्रुहरूद्वारा सदैव पराजित भइरहन्छन् । त्यसैले बलवान् व्यक्तिले कहिल्यै पनि दुर्बल शत्रुको अवहेलना गर्नु हुँदैन वा उसलाई सानो सम्झनु हुँदैन किनकि आगाको झिल्को सानै भएपनि डढाउन समर्थ हुन्छ भने विषको मात्रा कमै भएपनि कसैको ज्यान लिन सक्षम हुन्छ–
न च शत्रुरवजेयो दुर्बलोऽपि बलीयसा ।
अल्पोऽपि हि दहत्यग्निर्विषमल्पं हिनस्ति च ।।
(पूर्ववत्, १२।५८।१७)

ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र चार वर्णका भिन्नाभिन्नै धर्महरू रहेका छन् । तीमध्ये धर्मका ज्ञाता आर्य व्यक्तिहरूको कथन यो छ कि अन्य समस्त धर्महरूको आश्रय त थोरै छ र फल पनि अत्यन्त कम छ परन्तु क्षात्रधर्मको आश्रय महान् छ र त्यसका फलहरू पनि बहुसङ्ख्यक एवं परमकल्याणरूप छन्, तसर्थ क्षात्रधर्मभन्दा ठूलो अर्को कुनै धर्म छैन–
अल्पाश्रयानल्पफलान् वदन्ति
धर्मानन्यान् धर्मविदो मनुष्याः ।
महाश्रयं बहुकल्याणरूपं
क्षात्रं धर्मं नेतरं प्राहुरार्याः ।।
(पूर्ववत्, १२।६३।२६)

वस्तुतः ब्राह्मण, वैश्य र शूद्र तीनै वर्णको धर्म क्षत्रिय धर्ममा आश्रित छ, त्यसैले सबै धर्मभन्दा क्षात्रधर्म श्रेष्ठ मानिएको हो । वनमा वा विभिन्न आश्रमहरूमा रहेर जसले जति धर्म गर्छन् ती सबैको रक्षा गर्नाले राजा वा राजनेता त्यसको सय गुना बढ्ता धर्मको भागी हुन्छ । तसर्थ वास्तविक राजधर्म वा राजनीति गर्न निकै गाह्रो छ । राजनेताहरूको अन्धभक्त हुँदैमा वा कुनै दलको गुट–उपगुटमा सम्मिलित हुँदैमा राजनीति गरेको ठहरिँदैन । वर्तमानमा राजनीतिभित्र विकृति भित्रिँदै जाँदा यथार्थमा राजधर्म र राजनीतिको महत्ताप्रति जनमानसको ध्यान आकृष्ट हुन सकेको छैन । राजनीति वा राजधर्म ब्राह्मण, वैश्य र शूद्रको नीति वा धर्म नभई क्षत्रियको नीति वा धर्म हो । त्यसैले राजनीति वा राजधर्मको मूल मर्मलाई आत्मसात् गरी जनमानसमा राजनीति वा राजधर्मप्रति श्रद्धा प्रकट गर्न विशेष गरी क्षत्रिय वर्गका कुशल राजनेताहरूको गम्भीर ध्यान जानुपर्ने आवश्यकता देखिन्छ ।
(सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैंडाकोट, नवलपुर)

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button