विशेष

तान्जानिया: पर्यटनबाटै समृद्धितिर

तान्जानिया – पर्यटनबाटै समृद्धितिर

बिजय ज्ञवाली/

नेपालसंग कुटनैतिक सम्बन्ध नभएको पूर्वी अफ्रिकी मूलूक तान्जानियाको आकर्षक पर्यटन व्यवसाय लोभलाग्दो देखियो। काठमान्डौदेखी लगभग ६५३४ किलोमिटर टाढा रहेको यो देश हिन्द महासागरको तटक्षेऊंमा अवस्थित छ। विशेष गरेर सोहाली भाषा प्रयोग हुने यो देशको विशेषता भनेकै सुन्दर र सदावहार प्राकृतिक मनोरमता, काठबाट बनाईएका कलात्मक ढंगका काष्ठकला र ४/५ सय बर्ष पुराना माटो र ढुंगाले बनाईएका भवनहरु हुन। हाम्रो प्राचिन नगरि `काष्ठमण्डप´ मा झैं यहाँको वन पैदावरजन्य बस्तुबाट उत्पादित कलात्मक काष्ठकलाको पनि उत्तिकै महत्वको विषय हो। हरेक घरदेखी लिएर बिभिन्न स्कूल, होटल तथा सार्वजनिक सम्पत्तिहरुका झ्यालढोका, भर्‍याङ तथा आन्तरिक एवं बाह्य सजावटमा अत्यन्तै कलात्मक रुपमा प्रयोगमा ल्याईएका काठका बुट्टेदार सामाग्री नै यहाँ पर्यटक लोभ्याऊने गतिलो माध्यम बनेको रहेछ।

१८ नोवेम्बरमा दिल्लीस्थित ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ठिक ३ बजे कतार एयरवेजको उडानबाट उडिसकेपछि कतारमा केहिघण्टाको ट्रान्जिटपश्चात तान्जानियाको जान्जिवार अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गर्दैगर्दा मनमा अनेकन जिज्ञासाहरु उत्पन्न भईरहेका थिए। कतारबाट उड्नासाथ हिन्द माहासागर र साहारा मरुभूमीको दृष्यावलोकन गर्दै लगभग ६ घण्टाको उडानपश्चात जान्जिवारस्थित यौटा सानो एयरपोर्टमा बिमान अवतरण गर्नपुग्यो। विचविचमा हरियाली टापूहरु, स-साना बस्तीसंगै एकिकृत तरकारी खेतिको नमूना विमान अवतरणको समयमा प्रष्ट देखिन्थ्यो। मेरो लागी बिल्कूलै नयाँ र नौलो परिवेषयुक्त देशको भ्रमण के कस्तो होला र मान्छे, सडक, समाज र भाषा-भेषभूषा के कस्तो होला भन्ने कौतुहलता विमानको अवतरणसंगै तिव्ररुपमा मनमस्तिष्कमा कुंदिरहेका थिए। विमान रन-वे मा दौडिरहेको थियो, म भने यता आफै आफैमा विमानसंगै दौडिरहेको थिएँ। जव बिमान आफ्नो कोर्टमा टक्क अडियो, म पनि बिस्तारै सेलाऊंदै जान थालें, किनकि मैले सोंचेकोभन्दा बिल्कूलै भिन्न र फरक दृष्यहरु विमानबाट नओर्लिंदै देखिन पुगे। यसो यताऊती हेर्छु त एयरपोर्टमा जम्माजम्मी ३/४ वटा मात्र जहाज छन, तिपनि निकै स-साना ४/५ यात्रु बोकेर उडानभर्ने जस्ता ! २/४ वटा हेलिकप्टर र तिनै जहाजसंगै शून्य शून्य देखिएको एयरपोर्टमा भने अन्य देशका ठूला एयरवेज कम्पनीहरुले पछिल्लो समय उडान भर्न शुरु गरेका रहेछन।

जव विमानबाट ओर्लियो, त्यसपछि त झनै आश्चर्यमा पो परियो ! विमानबाट ओर्लिएका यात्रुलाई बोकेर ईमिग्रेसनसम्म पुर्याऊने गाडी देखेर तिनछक परियो। नेपालको पुरानो साझा यातायातमा झैं गाडीमा भेंडा कोचिएझैं कोचिएर ईमिग्रेसनसम्म पुगिसकेपछि बल्ल एयरपोर्टको हविगत देखेर यो निष्चिन्तमा पुगियो कि हालत खराब छ भनेर। एकपटक झर्लक्क नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानसथलसंगै पोखरा एयरपोर्ट र भैरहवा एयरपोर्ट सम्झिन पुगेँ। यहाँको अन्तर्राष्ट्रिय एयरपोर्ट भन्दा त आफ्नै आन्तरिक उडान भर्ने एयरपोर्टहरु कयौं गुणा स्तरिय छ्न नि भनेर जिन्दगीमा पहिलोचोटी आफ्नै देशका डोमेष्टिक एयरपोर्ट सम्झिएर गर्व गरियो।

संयुक्त गणराज्य तान्जानिया अफ्रीका महाद्वीपका पूर्वी भागमा स्थित एक देश हो, जसको सीमाहरू, उत्तरमा केन्या र युगाण्डा, पश्चिममा रुवाण्डा, बुरुण्डी र कंगो, दक्षिणमा जाम्बिया, मलावी र मोजाम्बिकबाट मिल्दछन्, तथा देशको पूर्वी सीमा हिंद महासागर द्वारा निर्धारित हुन्छ। सन् १९६३ मा स्वतन्त्रता प्राप्ति गरेको तान्जानिया कूल २६ प्रदेशहरू मिलेर बनेको यौटा देश हो। जसलाई स्थानिय भाषामा `मिकाओ´ पनि भन्ने गर्दछन। सन् २००५ मा भएको आम निर्वाचनमा निर्वाचित राष्ट्रपति जकाया किकवेते म्रिस्रो नै हालसम्म देशका वर्तमान राष्ट्रप्रमुख रहिआएका छन।

करिव २ मिलियन बर्षपहिलाका मानिशहरुको जिवाष्म अवशेष भेटिएको देशको रुपमा तान्जानियालाई लिन सकिन्छ। पश्चिम अफ्रीकातिरवाट आएका क्यूसिक र खुसीन भाषा बोल्ने शिकारी समुहहरुद्वारा करिव २००० बर्ष पहिलादेखि नै तान्जानियामा बस्ती बसाऊन शुरु गरिएको कुरा विभिन्न ऐतिहासिक अभिलेखालयहरुद्वारा जानकारी पाऊन सकिन्छ।

खासमा तांजानियाको नाम दुई राष्ट्रहरू – तंगानयिका र जांजीबारबाट मिलेरबाट मिलेर बनेको छ। सन् १९६४ मा तंगानयिका र जांजीबार एकआपसमा विलय हुने घोषणासंगै सयुंक्त गणराज्य तान्जानिया अस्तित्वमा आएको थियो। स्थानिय स्वाहिली भाषामा “उहुरू ना उमोजा” अर्थात “स्वतन्त्रता एवं एकता” भन्ने मूल राष्ट्रिय नारा रहेको यस देशको राष्ट्रिय गान: “मुंगु इबरिकी अफ्रीका” अर्थात
“गड ब्लेस अफ्रीका” भन्ने अर्थ रहिआएको छ।
सन् २००६ को प्रारम्भिक जनगणनाअनुसार ३७,८४९,१३३१ जनसंख्या रहेको यस देशको प्रतिब्यक्ति आय १,१०० डलर रहेको छ। तान्जानियन सिलिङ्ग प्रचलनमा रहेको यस देशको मुद्रा भने निकै कमजोर रहेको छ।

सन् १९६१ मा सम्पन्न स्वतन्त्रता आन्दोलनसंगै तान्जानिया बेलायती उपनिवेशबाट मुक्त भएको थियो। उक्त स्वतन्त्रता आन्दोलनको नेतृत्व सम्हालेका थिए बामपन्थी विचारधारा समुहका नेता जुलियस न्यरेरे ले। तान्जानिया स्वतन्त्रतापश्चात तिनै न्यरेरे स्वतन्त्र तान्जानियाका प्रथम राष्ट्रपतिमात्र भएनन, सम्मानस्वरुप उनले तान्जानियाको संस्थापक पिताको उपमा पनि पाएका थिए।

सन् १९७० पूर्व तान्जानियाको अर्थव्यवस्था अत्यन्तै नाजुक थियो। तर सन् १९७० को दशकको उत्तरार्धमा तान्जानियाले चीनसंग गरेको ब्यापारिक एवं पारवहन सम्झौतासंगै तान्जानियाको अर्थव्यवस्था विस्तारै सुधारोन्मुख हुंदै गएको हो। सन् १९७० देखी १९७५ को पंचवर्षिय योजना अनुरुप चीन सरकारले जाम्वियादेखी देशको आर्थिक राजधानी दार-ए- सलाम तक १८६० किलोमिटर लामो रेल संजाल निर्माण गर्नमा उल्लेख्य सहयोग गरेको थियो। साथै सन् १९८० को मध्य दशकदेखि तन्जानियाले अन्तर्राष्ट्रिय मुद्राकोषबाट ऋण सहयोग लिएर भौतिक पूर्वाधार एवं उधोग कलकारखानामा लगानी गर्न थालेपछि मात्र यस देशको अर्थतन्त्रका साथै प्रतिब्याक्ति आयमा समेत उल्लेख्य उपलव्धी हासिल गर्न सफल भएको हो। जसको कारणले देशमा व्याप्त विकराल गरिवी तथा बेरोजगार समस्यालाई धेरै हदसम्म हल गर्न तान्जानिया सफल भएको थियो।

भूमध्य रेखामा अवस्थित तान्जानिया प्राकृतिक रुपमा निकै सुन्दर देश हो। यहाँको प्राकृतिक सौन्दर्यता र प्राचिन संग्राहलय विदेशी पर्यटकका लागी लोभलाग्दा विषय हुन। अलिकति गर्मी मौसम भएतापनि यहाँ बाह्रैमहिना प्रायश:पानी परिरहेको हुन्छ। तान्जानियामा अवस्थित क्लिमान्जारो पहाड सवैभन्दा चर्चित र अग्लो पहाड हो। यो पहाड यहाँ आऊने पर्यटकको पहिलो रोजाईं पर्ने गर्दछ। यसका अलावा यहाँको उलाल पार्क अर्को आकर्षणको केन्द्र हो जहाँ जिराफ, चितुवा, सिंह, हात्ति, शुतुरमुर्गलगायतका थुप्रै जंगली जनावरहरुको नजिकबाट अवलोकन गर्न सकिन्छ। तान्जानियालाई ७ प्राकृतिक आश्चर्यको देशका रुपमा पनि चित्रित गर्ने गरिन्छ। यहाँ अवस्थित माऊन्ट क्लिमान्जारो, सेरेङेटी, नोगोरोङ्गोरो क्राटर, सेलियस गामे रिजर्व, गोम्बे स्ट्रीम नेशनल पार्क, रुआहा नेशनल पार्क र किटुलो नेशनल पार्क अत्यन्तै चर्चित एवं घुम्नलायक स्थानहरु हुन।

अधिकांश भारतको गुजरातबाट यहाँ आई स्थायी बसोबास गरेका मानिसहरुको संख्या उल्लेख्य छ। ति भारतिय मूलका नागरिकहरु प्रायः ब्यापार ब्यवसायमै लागेका भेटिन्छ्न। यहाँका मान्छेहरु सवै धर्मलाई अत्यन्तै सम्मान गर्ने गर्दछन। प्राय सवै धर्मावलम्बीहरु रहेको यस देशका नागरिकहरु एकआपसमा अत्यन्तै सौहार्दपूर्णरुपमा रहिआएका छन। जातपातको विषयलाई लिएर यहाँ मनमुटाव या भेदभाव गरिंदैन। हिन्दु मन्दिरका अलावा गुरुद्वारा तथा गुजराती सभ्यताका मठमन्दिरहरु यहाँ प्रशस्त भेटिन्छ्न। यसका अलावा स्वामीनारायणको मन्दिर, मस्जिद, गिर्जाघरहरु यात्राको दौरान ठाऊँ ठाऊँमा देख्न सकिन्छ। स्थानिय मानिशहरु प्राय: काला र मुश्लीम समुदायका भएतापनि उनीहरु एकदमै सोझा, इमान्दार एवं मेहनति हुंदारहेछन। अंग्रेजी र स्थानिय सोहाली भाषाक अलावा हिन्दी र गुजराती भाषा पनि यहाँ प्रचलनमा रहिआएको छ।

तान्जानियाको राजधानीको रुपमा रहेको जान्जिवार यौटा टापु हो, जो मसालाजन्य उत्पादनको लागी प्रख्यात छ। चारैतर्फ समुद्रले घेरिएको यस टापुमा मसालाजन्य बस्तुका अलावा सदावहार तरकारी र फलफूल खेतीको लागी पनि उत्तिकै प्रख्यात रहिआएको छ।

स्टिल उत्पादनको लागी प्रख्यात तान्जानियामा स्टिलको अलावा मत्स्य ब्यवसाय, पपशुपालन, कृषि, ब्यापार, पर्यटन र होटल तथा रेष्टुरेन्ट ब्यवसाय खुवै लोभलाग्दो देखिन्छ। स्थानिय खानाका परिकारसंगै ईन्डियन खानाको पनि यहाँका होटल तथा रेष्टुरेन्टहरुमा वर्चस्व रहिआएको छ। यसका अलावा ईटालियन, थाई तथा चाईनिज खानाहरु पनि यहाँका होटल तथा रेष्टुरेन्टहरुमा उपलव्ध हुने गर्दछ।

पर्यटन व्यवसायलाई सुरक्षित, मर्यादित एवं भरपर्दो रुपमा संचालन गर्नको लागी संयुक्त गणराज्य तान्जानियाले सन् २००५ देखि संस्कृति र पर्यटनसम्बन्धी अलग्गै अध्यादेश नै जारी गरेको रहेछ। पर्यटकको सुरक्षाका लागी पर्यटन प्रहरीलाई चुस्त मात्र होईन पर्यटकमाथी कुनै अकल्पनिय घटना नघटोस भन्ने हेतुले शहरका हरेक चोक र गल्ली गल्लीहरु चौविसै घण्टा सिसि क्यामेराको कडा निगरानीमा रहिआएका छन। जसको कारण दिनरात हर जो कोहि नागरिक स्वतस्फूर्तरुपमा निर्वाध घुमेको देख्न सकिन्छ। कतिपय स्थानहरुमा केहि उच्छृङ्खल काला जातीका स्थानिय ब्याक्तिबाट हुने गरेको बदमासी रोक्न ति ठाऊँहरुमा पर्यटन प्रहरीको क्याम्प नै खडा गरिएको छ भने साथमा कतिपय चोक र गल्लीमा सिसि क्यामेराका साथै नि:शुल्क टेलीफोनको व्यवस्था पनि गरिएको पाईन्छ। यसले गर्दा यहाँ पर्यटकहरुलाई निर्वाध रुपमा घुमफिर गर्न सहज हुने गरेको छ।

पछिल्लो आर्थिक बर्षको आँकडा हेर्ने हो भने एकबर्षमै तान्जानियामा कूल ७ लाख पर्यटक तान्जानिया भित्रिएको पाईन्छ। यो तथ्यांक तान्जानियाको हकमा साह्रै लोभलाग्दो तथ्यांक हो।

पर्यटनसंगै होटल मात्र होईन, साथमा यहाँको कला र संस्कृतिको माध्यम पनि तान्जानियाले उल्लेख्य मात्रामा आम्दानी गर्न सफल भएको छ। नेपालमा जस्तै यहाँको आफ्नै मौलीक संस्कृति र कलाकृति पनि कम्ता रोचक छैनन। सांस्कृतिक झाँकी प्रदर्शन गर्नमा पूर्वी अफ्रिकी मूलूकमध्ये तान्जानिया अग्रपंक्तिमा आऊंदछ भने काठ तथा विभिन्न जनावरका हाड र छालाद्वारा निर्मित कलात्मक सामाग्री जसलाई `क्यूरियो´ पनि भनिन्छ,को बिक्रीबाट तान्जानिया सरकारले मनग्ये लाभ लिएको छ। नेपालमा जस्तै कलात्मक बुट्टावाला काष्ठकला, हस्तकला र मूर्तीकला यहाँका खुवै आकर्षकताका स्रोत हुन। नेपालको ठमेल, वसन्तपुरजस्ता स्थानको झल्को नै मेटाऊनेगरि यहाँ पनि त्यस्तै खाले तर यहाँकै मौलिकतामा आधारित सामाग्रीहरुको धित मरुन्जेल अवलोकन एवं खरिद गर्न सकिन्छ। तर, नेपालको ठमेल, बसन्तपुरजस्ता स्थानमा जस्तो यहाँ भिडभाड बिल्कूलै हुंदैन, किनकि यस्ता स्थानहरुमा केवल पैदलमार्ग मात्र बनाईएको छ, सवारी साधनहरु निषेध गरिएको छ।

नेपालसंग दौत्य सम्बन्ध कायम नभएकैले होला, सायद नेपाल सरकारको तथ्यांकमा यो देशमा कार्यरत नागरिकको विवरण पनि छैन,तर यस देशमा अनुमानित २५० जनाजति नेपाली नागरिकहरु पनि कार्यरत छन। जसमध्ये ९० प्रतिशत नेपाली नागरिक होटल क्षेत्रमै कार्यरत छन। यहाँका ठूला ठूला होटलमा म्यानेजर देखी लिएर `एजुकेटिव शेफ´ को हैशियतमा नेपाली नागरिकहरु कार्यरत छन। बाँकी १० प्रतिशत नेपाली नागरिक अन्य क्षेत्रमा कार्यरत रहेको जानकारी जान्जीवारस्थित ४ तारे होटल `मारुमारु´मा `एजुकेटिव सेफ´ मा कार्यरत तनहुँका भगवान भट्टराई र गुल्मी तुराङ्गका नारायण अर्यालले जानकारी दिए।

डलरमा आम्दानी हुने हुनाले यो देश यहाँ अवस्थित नेपाली नागरिकको आकर्षक गन्तव्य मुलुक बनेको छ। विशेष गरेर ५ तारे होटलदेखि लिएर रेष्टुरेन्टसम्मका उच्च पदमा नेपाली नागरिकको वर्चस्व रहिआएको छ। लाखौं बेरोजगार नागरिक भएको यो देशमा लगानी गर्ने लगानीकर्ताहरु अझै पनि यहाँका स्थानिय नागरिकलाई महत्वपूर्ण जिम्मेवारी दिनवाट हिचकिचाऊँछन। किनकी, अलिकति चोरी र ठगी स्वाभावका हुने यहाँका नागरिक मौकामा चौका हान्न रत्ति पनि लगाऊन्नन। यहाँ अन्य कम्पनी भन्दा होटल तथा रेष्टुरेन्ट ब्यवसाय राम्रोसंग फष्टाएको हुनाले नेपाली दक्ष नागरिकले उपल्लो हैशियतको जिम्मेवारीमा पहुँच बनाऊने अवसर पाएका हुन।

तान्जानिया सरकारको पछिल्लो नितिअनुसार, ब्यवसायीले सवैभन्दा पहिला आफ्नै देशका नागरिकलाई प्राथमिकता दिनुपर्दछ भन्ने रहेको छ। तर, लगानीकर्ता भने आफ्नो ब्यवसायको प्रमूख पदमा स्थानिय नागरिकलाई राख्न तयार छैनन। किनकि लगानीकर्ताहरु यहाँका स्थानिय नागरिकमाथी भर पर्न कदापी तयार छैनन। यसको अर्थ हो- अविश्वास। त्यसैको प्रभावले नै हो, यहाँ अवस्थित नेपाली नागरिक उच्च पदका साथै उच्च मानसम्मानबाट बिभूषित छन।

घुमघामको लागी ट्रान्जिट भिसा लाग्ने हुनाले यो देशमा कति नागरिक घुम्न गए यो तथ्यांक भने नेपाल सरकार संग होला। तर, यो देशमा काम गर्न कतिजना आफ्ना नागरिक गए त भन्ने तथ्यांक नेपाल सरकारसंग सायद नहोला पनि! किनकि एक त नेपालको कुटनैतिक सम्बन्ध नै छैन। अर्को कुरा, नेपालको श्रम साह्रै झन्झटिलो र बोझलाग्दो छ, साथमा खर्चालु पनि ! त्यसैले नै होला तान्जानियामा अवस्थित नेपाली नागरिकमध्ये ९९ प्रतिशत दिल्ली या मुम्बईको एयरपोर्ट प्रयोग गरेर यहाँ आएका हुन।

अन्त्यमा; नेपाल सरकारले यहाँ आऊन खोज्ने आम नागरिकको श्रमसम्बन्धी कार्यलाई सहज बनाईदिने हो भने अधिकांश नागरिकले नेपालकै विमानस्थल प्रयोग गरेर उड्न सक्ने थिए। साथमा नेपाल र तान्जानिया सरकारबिच श्रम सम्झौता तथा दौत्य सम्बन्ध स्थापना हुने हो भने होटल तथा पर्यटन ब्यवसायतर्फ दुवै मुलुकलाई लाभ हुने देखिन्छ। साथै आकर्षक तलव प्राप्त हुने हुनाले दक्ष नागरिकले यहाँका तारे होटल तथा रेष्टुरेन्टहरुमा सहज रुपमा काम गर्ने अवसर प्राप्त गर्नेथिए।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button