विचार ब्लग

सिरिया: पश्चिमाको खुनी राजनिती

बिजय ज्ञवाली

“पर्खालमा खरीले लेखिएको थियो –
‘ऊ युद्ध चाहन्छ ।’
जसले यो लेखेको थियो,
पहिले नै ऊ धराशायी भइसकेको थियो।”

– बर्टोल्ट ब्रेख्त

यौटा शाषकको तिव्र सत्तामोहको लालशाका कारण कसरी लाखौं नागरिकको रगतको खोलो बगाईंदो रहेछ, त्यसको जानकारी लिनका लागी सिरियामा चर्कंदो गृहयुद्ध अध्ययन गरे पुग्छ, साथै यौटा सिंगो देशको भूमी बाह्य शक्तिको लागी क्रीडास्थलको रुपमा आमन्त्रित गरिदिंदा देश कसरि तहसनहस हुंदोरहेछ, त्यो बुझ्न सिरिया अध्ययन गरे पुग्दछ र शाषकहरु सत्ताको प्यासमा कुन हदसम्म वाह्य शक्तिका गुलाम बनी मुलुकको सार्वभौमरुपी अस्मिता कसरि लुटाऊँदारहेछ्न त? त्यो बुझ्न मात्र सिरिया अध्ययन गरे पुग्छ।

सन् २०११/१२ तिर वास्तवमा सिरियाको समस्या यौटा आन्तरिक समस्याको रुपमा मात्र थियो, तर अव चर्कंदो सिरिया संकटसंगै उक्त समस्या आन्तरिक मात्र रहेन, समग्र विश्वलाई नै ध्रुवीकृत गर्नेगरि यौटा अन्तर्राष्ट्रिय मुद्धा बनेर खडा भएको छ। सिरिया संकट जति गहिरिंदै गईरहेको छ, त्यत्तिकै मात्रामा समग्र विश्व तरंगित भैराखेको छ। आन्तरिक कलह सुल्झाऊन नसक्ताको मूल्य आज सिरियाले जसरि चुकाऊनुपरेको छ, सायदै सत्ताको उन्मत्तमा रगतका बाछिटाले छ्यापिएका शाषक वसर अल असदलाई यस ग्लानीले छुंदो हो।

अरव स्प्रिंग को नामबाट चर्चित सिरिया संकट सन् २०११ को जनवरी २६ बाट शुरु भएको हो। २६ जनवरीका दिन हसन अली नामक ब्याक्तिले वसर अल असद सरकारको चरम स्वेच्छाचारी, भ्रष्टाचार, वेरोजगारी र तानाशाह शैलीको विरोधमा आत्महत्या गरेका थिए। त्यसको करिव एकमहिनापछि सामाजिक संजालहरुमा सरकारका विरुद्ध कडा आक्रोशहरु पोखिन मात्र थालेनन, लोकतन्त्रको गढ मानिने दारा शहरमा स्वतस्फूर्तरुपमा सरकारका विरुद्ध आन्दोलनका ज्वारहरु उठ्न थाले। दारा शहरबाट शुरु भएको आन्दोलनको ज्वार अन्य शहरहरु अलहस्का, डेरहमा मा मात्र फैलिएन कि विस्तारै आन्दोलनले हिंसात्मक रुप पनि लिंदै गयो। आन्दोलन नियन्त्रणबाहिर जान थालेपछि वसर अल असदले अप्रील २०११ मा उक्त शहरहरुमा संकटकालको घोषणा नै गर्नुपर्यो। यता आन्दोलन हिंसात्मक हुंदै जानु र अर्कोतर्फ असद सरकारले आन्दोलन दवाऊन राज्यका सवै शक्ति प्रयोग गरेर आन्दोलनलाई कुल्चेरै जाने हठका कारण नै सिरिया गृहयुद्धमा होमिन पुगेको हो। जसका कारण आजसम्म सिरियाको गृहयुद्धमा परि ५ लाख मानिशले ज्यान गुमाऊनुपरेको छ भने ५०औं लाख नागरिक सिरियावाट विस्थापित भै तेस्रो मुलुकहरुमा शरणार्थी जिवन ब्यतित गर्नुपरेको छ। देशभित्रै हताहती, वेघरवार तथा अंगभंगको आँकडा त अझै कहालीलाग्दो छ।

आन्दोलनकारीले असद सरकारलाई अपदस्त गरेरै छाड्ने र सरकारी पक्ष आन्दोलनलाई कुल्चेरै छाड्ने हठले गर्दा सिरिया झनै तनावग्रस्त बनेको हो। यसैविचमा समानान्तर सत्ताको अभ्यास गरिरहेका आन्दोलनकारीहरुसंगै सयौं अन्य गुटहरु हतियारसहित स्थापित भैसकेका थिए। सन् २०१२ को मध्यतिर आन्दोलनकारी र हतियारधारी गुटहरु विद्रोही शक्तिका रुपमा स्थापित भैसकेका थिए जसको परिणाम सिरिया वर्ष १२ को अन्त्यतिर नराम्रोसंग गृहयुद्धमा होमिईसकेको थियो। जसका कारण क्षेत्रीय राजनिति समेत तरंगित भएन वसर अल असदको कठोर समर्थन गर्दै पहिलोपटक सिरियाको आन्तरिक गृहयुद्धमा रुसले समेत सहजरुपमा प्रवेश गर्ने मौका पायो। रुसको सिरिया प्रवेशले क्षेत्रीय राजनितिसंगै विश्व राजनिति समेत तरंगित बन्न पुग्यो। वसर अल असदलाई समर्थन एवं सहयोगको बाहानामा सिरिया छिरेको रुसले पहिलोपटक सिरियामा सैन्य अड्डा मात्र स्थापित गरेन समग्र सिरियालाई नै दूई जतिय कोपभाजनमा बाँढ्न समेत रुस सफल भयो। अधिकांश आन्दोलनकारी सुन्नी तथा असद शिया समुदाय भएकै कारण रुसले धार्मिक सम्प्रदाय खलबल्याऊन कुनै कसर बाँकी राखेन। सुन्नी समुदायविरुद्ध आक्रामक तर शिया समुदायविच नरम निति अंगालेर जातिय सम्प्रदाय भड्काऊन सफल विभेदकारी रुसको गतिविधिहरु नजिकबाट नियालीरहेको ईरान पनि वसरको समर्थनमा हिजवुल्लाह लडाकुसहित सहजरुपमा सिरिया भित्रीन सफल भयो। शिया समर्थनमा रुस तथा ईरानको सिरिया प्रवेशसंगै सिरिया संकट झनै गहिरिंदै गयो भने विद्रोही दवाऊने निहुँमा निर्दोष नागरिकहरुको कत्लेआम गर्न थालियो। शिया समुदायका हिजवुल्लाह लडाकू र रुसी सेना मिलेर बनेको संयुक्त गठवन्धनलाई टर्कीको पनि साथ र सहयोग हुनथाल्यो।

र, यो पनि पढ्नुहोस बेला न कुबेला भेनेजुएला

रुस, ईरान अनि टर्कीको समर्थन एवं सहयोगलाई नजिकैबाट नियालिरहेको विश्व शक्तिकेन्द्र अमेरिका पनि विस्तारै सिरिया प्रवेश गर्ने बाहाना खोज्दैथियो। सिरियामा अधिकांश विद्रोहिहरु सुन्नी समुदायका थिए जसमा प्रतिवन्धित आईएस लडाकू समुह पनि सामेल थियो। तर अमेरिकालाई सिरियामाथी खेल्नु थियो र उसले आफ्नो प्रभुत्व सिरियामाथी लादेरै छाड्नुथियो। रुस, ईरान र टर्कीका गतिविधिलाई नै मात दिनेगरि अमेरिकाले वसर अल असद लाई नै आतंककारी घोषणा मात्र गरेन असद विरुद्ध लडेरै छाड्ने उद्घोस पनि जारी गर्यो। यसरी आन्तरिक समस्याको रुपमा रहेको सिरियाको समस्या गृहयुद्ध हुंदै विश्व शक्तिकेन्द्र अथवा साम्राज्यवादहरुको जुंगाको दाऊको रुपमा परिणत भयो।

अमेरिकाले विद्रोही सुन्नी समुदाय तथा आईएस लडाकूलाई समर्थन मात्र गरेन ठूलो मात्रामा आर्थिक र हातहतियार र तालिमसमेत दिई सिरियालाई यौटा कहालीलाग्दो द्वन्दमा समेत धकेलिईदियो। ठूलो मात्रामा रासायनिक हातहतियार, गोलीगठ्ठा, बम बारुद उपलव्ध गराई सिरियालाई तहसनहस बनाईछाड्ने ध्याऊन्नमा अमेरिका लागीपर्यो भने सुन्नी समुदायको समर्थनमा ओर्लिएको अमेरिकालाई सऊदी अरवको समेत साथ र सहयोग रहन पुग्यो। यद्यपि अमेरिकी गठवन्धन सेनाको समर्थनमा सऊदी अरव मात्र सामुन्ने आएन, उसंगै संयुक्त अरव ईमिरेट्स, बेलायत, फ्रान्स, जर्मनी, अष्ट्रेलियालगायतका देश पनि सामेल हुन पुगे। यसरी यौटा देशले सामान्य आन्तरिक कलह सुल्झाऊन नसक्ताको परिणाम गृहयुद्ध हुंदै बिभिन्न शक्तिराष्ट्रहरुको क्रिडास्थल मात्र बनेन अपितु शक्तिराष्ट्रहरुको टकरावमा पुरै रणभूमीमै परिणत भएर गयो।

सिरियामाथी शक्तिराष्ट्रहरुको जुंगाको दाऊपेच चलिरहंदा उत्तरी छिमेकी देश चीन पनि त्यसवाट अछुतो रहन सकेन। वसर अल असद पक्षधर रुसी नेतृत्वको गठवन्धनमा ईरान, टर्की सहित चीन पनि सामेल भएको छ। सिरियामाथी अमेरिकाको आफ्नै अभिष्ठ छ भने रुसको अर्कै अभिष्ठ छ। यि दूई शक्तिराष्ट्रको टकरावमा आज सिरिया यसरी दनदनी बलिरहेको छ, सिरिया यसरी क्रन्दित छ, सिरियामा यस्तो चित्कार निस्किन्छ, मानौं त्यो दनदनी बलिरहेको आगो ताप्न कथित लोकतन्त्रका ठेकेदारहरु लालायित छन, सिरियाको क्रन्दनमा अन्तर्राष्ट्रिय मानवअधिकारका ठेकेदारहरु बौंरिने अवसर पाऊँदा हुन र सिरियामा दिनहुँजसो निस्किने चित्कारको कोलाजमाझ संयुक्तराष्ट्रसंघ नामको बबुरो एकदूई पाना वक्तव्यमा खर्चिंदो हो। त्योभन्दा बढि यि ठेकेदारबाट केहि देखिन्छन त त्यो शक्तिराष्ट्रकै छाँयाको रुपमा मात्र देखिन्छन।

सिरियामाथी अमेरिकाको यतिविघ्न क्रूर उपस्थितिको यौटै पाटो छ। यदि असदलाई सत्ताच्यूत गर्न सकियो भने समग्र मध्यपूर्वमा रुसको प्रभुत्वलाई पूर्णरुपमा मेटाऊन सकिन्छ भन्ने अमेरिकी दाऊ रहिआएको छ भने असदको अस्तित्वमा नै मध्यपूर्वमा रुसले आफ्नो प्रभुत्व कायम राखिरहन सक्ने रुसको ठम्याई रहेको छ। यसरि यि दूई शक्तिराष्ट्रहरुको आ-आफ्ना दाऊ का कारण समग्र विश्व राजनिती तरंगित छ।

१० अप्रिल २०१२ मा जव सत्तापक्ष र बिद्रोहीविच १३ महिनादेखी जारी गृहयुद्ध अन्त्य गर्ने सहमति बन्यो तव विश्वलाई सिरिया संकट समाधान भएको भान पर्यो। तर, उक्त सहमतिको उल्लंघन गर्दै सन् २०१३ मा सत्तापक्षले बिद्रोही लडाकूका ठेगानमा अकस्मात मिसाईल हमला गरेपछि स्थिती झनै तनावग्रस्त हुनपुग्यो। उक्त मिसाईल हमलामा करिव १३०० जनाले ज्यान गुमाऊन पुगेका थिए। तर विडम्वनाको कुरा के छ भने सिरियामा जहिलेपनि सत्तापक्ष र विद्रोहीपक्षविच गोली हानाहान या आक्रमण हुन्छ त्यस्तो अवस्थामा सयौंका संख्यामा निर्दोष नागरिकहरुले ज्यान गुमाऊन पुगेका हुन्छ्न। यसै हप्ता सिरियामा भएको मिसाईल हमलामा १५० बालबालिकासहित करिव ५०० जना निर्दोश नागरिक मारिएका समाचारले समग्र विश्व नै स्तव्ध हुन पुग्यो। ति कलिला बालबालिकासहित निर्दोष नागरिकमाथी भएका त्यस्ता वर्वर हमला मानवतामाथीको क्रूर आक्रमण हो। हालसम्म सिरियाको गृहयुद्धमा परि करिव ५ लाख निर्दोष नागरिकले ज्यान गुमाऊन पुगेका छन भने पचासौं लाख नागरिक हताहत र विस्थापित हुन पुगेका छन। जसले गर्दा युरोपमा सिरियाली शरणार्थी ब्यवस्थापन यौटा चुनौतीको रुपमा खडा भएको छ भने नेपालले पनि सिरियन शरणार्थीको लागी आश्रय दिईराखेको छ।

२०१७ मा ट्रम्प र पुटिनविचको सौहार्दपूर्ण सम्बन्धले सिरिया संकट समाधान हुनेमा अधिकांश विश्व समुदाय आस्वस्त थियो। तर, सिरिया मुद्धालाई लिएर नै यि दूई शक्तिशाली नेताविचको सम्बन्ध झनै बिग्रँदो अवस्थामा छ। यसवाट के पुष्टि हुन्छ भने सिरिया संकट तत्काल समाधान त हुंदैन नै, कहिं सिरिया संकटको वाहान तेस्रो विश्वयुद्धको विजारोपण हुने त होईन? वाँकी विश्व यसैको चिन्ता र भयमा डुविराखेको छ।

सिरिया संकट मानवताको लागी गम्भीर संकट हो। यो संकटले अहिलेसम्म मध्यपूर्वलाई मात्र प्रभावित गरेको भएतापनि पछिल्ला घटनाक्रमले के पुष्टि गर्दछ भने दूई शक्तिराष्ट्रको टकराव जहिले पनि विष्फोट हुनसक्तछ। किनकि सिरिया संकटलाई लिएर यि दूई राष्ट्रविचको सन्तुलन विस्तारै विग्रंदै गएको छ। जसरि अमेरिकाले वसर अल असदको विमानलाई नै लक्षित गरि ड्रोन र युद्धक विमानद्वारा हमला गर्यो, त्यसैगरि रुस पनि असदको समर्थनमा अमेरिकन युद्धक विमानमाथी हमला गर्न थाल्यो भने स्थिति सम्हालीसक्नुको अवश्य हुनेछैन। त्यसैले सिरिया संकट केवल मध्यपूर्वको मात्र संकट नभएर पुरा विश्वको संकटको रुपमा देखा पर्दैछ, अहिलेसम्म यि दूई शक्तिराष्ट्रहरुले आ-आफ्नो समर्थकलाई सहयोग गर्दै आएका छन, तर बिग्रंदो परिस्थितिमा सिरियाभित्रै रुस र अमेरिका प्रत्यक्ष युद्धमा होमिए भने स्थिति कल्पनाभन्दा बाहिरको हुनेछ।

सिरियाली शरणार्थीको जालो नेपालसम्म पनि फैलिएको छ। नेपालमा सिरियाली शरणार्थीको अवस्था निकै चिन्ताजनक छ। शक्तिराष्ट्रहरु विचको टकरावमा नेपालजस्ता मुलुकको स्वर निष्प्रभावी रहला, तर नेपाल पनि सयुंक्त राष्ट्रसंघको सदस्य तथा सिरियन शरणार्थीलाई आश्रय दिईरहेको देशको नाताले नेपालले सिरिया संकट समाधानमा कुटनैतिक लविङ्ग गर्न सक्तछ। सिरिया संकट समाधानको पक्षमा रहेका अन्य राष्ट्रहरुसंगको सहकार्यमा नेपालले सयुंक्त राष्ट्र्संघसमक्ष निरन्तर लविङ्ग गर्न सक्तछ। यद्यपि जव शक्तिराष्ट्रहरुद्वारा भिटो प्रयोगको समय आऊंदछ, तव संयुक्त राष्ट्रसंघ पनि निरिह बनेका उदाहरण हामीले ईराक र अफगानिस्तान आक्रमणताका नदेखेका त होईनौं। तर पनि शान्ती र मानवअधिकारका पक्षपाती देशहरुसंग नेपालले सहकार्य गरि आफ्नो आवाज पनि उंचो बनाऊन सक्तछ। विश्वमा अझैपनि अधिकांश मुलुक सिरिया संकट समाधानसंगै विश्व शान्तीको पक्षमा छन। ति मुलुकहरुसंग सहकार्यको नेतृत्व नेपाल आफै पनि गर्न सक्तछ। सिरिया संकट समाधानसंगै सिरियन शरणार्थीलाई घरफिर्तिको बाटो सहज बनाऊन नेपालजस्ता शान्तीकामी देशहरुले पनि अग्रसरता लिनुपर्दछ, लिन सक्नुपर्दछ।

ट्रम्प, सिरिया र विश्वराजनिति पढ्नको लागि यहाँ क्लिक गर्नुहोस।

लेखकलाई ट्विटरमा फ्लो गर्नुहोस।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button