राजनीति

भारतको राजनितिमा कन्हैया कुमार नायक कि खलनायक?

संयोग कस्तो भने दुई हप्ताअघि मात्र मैले कन्हैया कुमारको २४९ पृष्ठको किताब ‘फ्रम बिहार टु तिहाड’ सके, त्यही हप्ता भारत प्रहरीले उनीमाथि १२ सय पृष्ठ लामो देशद्रोहको अभियोग दर्ता गरेको समाचार आयो ।

आजभन्दा तीन वर्षअगाडि जवाहरलाल नेहरू विश्वविद्यालयका तत्कालीन छात्र संघका अध्यक्ष भएका नाताले त्यतिबेला विश्वविद्यालय परिसरमा भएको एउटा कार्यक्रमलाई लिएर उनी आरोपित छन् । आतंककारीको नाममा मृत्युदण्ड दिइएका अफजल गुरुको स्मृतिमा आयोजित कार्यक्रममा भारत विरोधी नारा लगाएको भन्ने भारतीय प्रहरीको कथन छ । त्यसो त यो अभियोग नयाँ अभियोग होइन । यही अभियोगमा सन् २०१६ मा हिरासतमा राखिएको थियो उनलाई । हजारौं विद्यार्थी र प्राध्यापकहरूको व्यापक विरोधका कारण १५ दिनपछि जमानतमा रिहा गरिएको थियो । अहिले आएर फेरि त्यही आरोपमा उनलाई देशद्रोहीको संज्ञा दिंदै हिरासतमा हाल्ने तयारी भइरहेको छ ।

विहार टु तिहाड
कन्हैया कुमारको ‘फ्रम विहार टु तिहाड’ किताब देशद्रोहको आरोपमा तत्कालीन समयमा तिहाड जेलमा राखिंदा लेख्न सुरु गरिएको किताब हो । बिहार टु तिहाड त्यसो त कुनै संस्मरणको किताब हो, जहाँ उनले आफ्नो बाल्यकालदेखि तिहाड जेलसम्मको यात्रालाई बडो सरलाताका साथ प्रस्तुत गरेका छन् । किताब पढिरहँदा एकसाथ धेरै खालको मनस्थितिको डुंगामा सयर हुन्छ पाठक । कुनै बेला लाग्छ, साहसिक कृत्यहरूले भरिएको कुनै रोमाञ्चक उपन्यास पढिरहेछु । कुनै बेला लाग्छ, वैचारिक गन्थनमन्थनहरूले भरिएको उच्च राजनीतिक चेतसहितको कुनै लामो निबन्ध पढिरहेछु ।

सुरुमै आफ्नो नाम र जन्ममितिलाई लिएर कन्हैया कुमार बडो रोचक कथा सुसेल्छन् । कृष्णाष्टमीको दिनमा जन्मेको उनको दाइको नाम कन्हैया नराखेर मणिकरत्न राखिन्छ र उनी कहिले जन्मेको हो भनेर जब कसैलाई थाहै हुन्न तर पनि नाम राखिन्छ कन्हैया । कस्तो विरोधाभाष † जब स्कुलमा अरू साथीहरू आफू जन्मेको अस्पताल र जन्ममितिको कुरा गर्छन् , एक दिन उनी पनि म कहिले र कहाँ जन्मेको भनेर आमालाई सोध्छन् । आमा भन्छिन्, ‘तिमी जन्मेको मिति त याद छैन तर त्यो बिहान म खाना पकाउँदै थिए । कोठाको एउटा कुनामा आटाको बोरा राखिएको थियो । त्यही बोरा नजिकै जाँदै गर्दा अचानक पेट दुख्यो, व्यथा सुरु भयो र तिमी जन्मियौ ।’ उनी मनमनै सोच्छन्— ए, म जन्मेको अस्पताल त आटाको बोरा राखिएको कोठाको कुना पो रैछ †

ख्यालख्यालैमा स्कुलमा जन्ममिति राख्ने ठाउँमा शिक्षकले जनवरी २ भनेर राख्दिन्छन् । वर्षौंसम्म उनी त्यही जनवरी २ लाई नै आफ्नो जन्ममिति सम्झन्छन् । दस कक्षाको परीक्षा दिएपछि एक दिन पिताजीको पुरानो डायरी भेट्छन् । २७ मार्चको दिनमा लेखिएको उक्त डायरीमा एउटा वाक्य हुन्छ— आज हाम्रो घरमा अतिथि आइपुगे । पछि पिताजीलाई सोध्दा थाहा लाग्छ— त्यो अतिथि कोही नभएर उनी आफैं हुन्छन् र पन्ध्र वर्षको उमेरमा उनलाई आफ्नो वास्तविक जन्ममिति थाहा हुन्छ ।

पिता जयशंकर सिंह र माता मीना देवीको कोखबाट सन् १९८७ मा भारतको विहारस्थित बेगुसराय गाउँमा उनको जन्म भएको हो । एउटा गरिब गाउँको गरिब विद्यार्थीझैं उनको विद्यार्थी जीवनको अध्याय सुरु हुन्छ, सरकारी स्कुलबाट । छ कक्षासम्म अंग्रेजीको २६ वठा अल्फाबेट राम्ररी जान्दैनन् उनी, फेरि पनि कक्षामा सधैं प्रथम हुनुको अहम्ले गमक्क फुल्छन् सधैं । एक पटक नतिजा प्रकाशनको दिन गाउँकै बुज्रुकले सोध्छन्, ‘के भयौ तिमी ?’ बडो घमण्डका साथ उनी सुनाउँछन्, ‘प्रथम भए नि, अरू के हुनु र †’
जब उनै बुज्रकले उनन्सत्तरीमा कति हुन्छ भनेर सोध्छन्, उनको जवाफ हुन्छ— सात र नौ । उनानन्असीमा नि ?– आठ र नौ । घर भएर आफैंले दिएको जवाफ चेक गर्दा जब गलत भएको थाहा पाउँछन्, प्रथम हुनुको अहम् पानीपानी हुन पुग्छ । मपाइँत्वले शिर निहुराउँछ पहिलो पटक ।

त्यसपछि बल्ल उनको वास्तविक पढाइ सुरु हुन्छ । घरमा सबैले कालो चिया खाएर दूध बेचेको पैसाले उनलाई ट्युसन पढाइन्छ । अंग्रेजी र हिसाब सुधार्दाको कठिनता, कपडा बचाउन लामो पाइन्ट नसिलाएर हाफ कट्टु लगाएरै दस कक्षासम्म पढ्दाको सकस, पढाइमा अब्बल भए पनि गरिबीको कारणले साथीहरूमाझ पंगु बन्नुपर्दाको छटपटीका साथ किताब अगाडि बढ्छ ।

आरकेसी स्कुलबाट १० कक्षासम्मको पढाइसकेपछि ११, १२ रतन सिंह कलेजमा पूरा गर्छन् । स्नातकसम्मको पढाइ पटनामा सकेर पोस्ट ग्राजुएट नालन्दा ओपन युनिभर्सिटीबाट गर्छन् । अन्त्यमा दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय अर्थात् जेएनयूमा भर्ना हुन्छन् पीएचडीका लागि । फ्रम बिहार टु तिहाड फगत एक संस्मरण होइन, यो बिहार सेरोफेरोको तत्कालीन समाजको राजनीतिक, आर्थिक र सामाजिक दस्तावेज पनि हो । एउटा साधारण युवकको असाधारण छलाङको अभिलेख पनि हो । कन्हैयाको शिक्षाको यात्रासँगै चेतनाको यात्रा सुरु हुन्छ । बीचबीचमा पैसाको अभावले यति धेरै ठुङ्छ कि बीचमै पढाइ छोडेर विदेश जानसमेत तम्सिन्छन् उनी । गरिबीले हरेस खाएर बेलाबेला मुर्छाउँछन् र फेरि ब्युँझन्छन् ।

संघर्षका श्यामश्वेत ती दिनहरूमा राजनीतिप्रतिको उनको लगाव र संगतले भने अनेकौ रङ देखाउन सुरु गर्छ । पटनाबाट सुरु भएको वामपन्थी राजनीतिप्रतिको उनको लगावले जेएनयूको छात्र संघको अध्यक्षको पदसम्म पुर्‍याउँछ । उपलब्धिको हिसाबले ३० वर्ष नपुग्दैको यो उपलब्धि एउटा देहाती केटोका लागि उच्च उपलब्धि मान्नुपर्छ । सफलताको यो सीधा कथामा एकाएक हलचल तब पैदा हुन्छ, जब उनी देशद्रोहको अभियोगमा देशकै सबैभन्दा ठूलो जेल तिहाड जेलमा पुर्‍याइन्छन् ।

कथाको कोल्टे
सन् २००१ मा भारतको संसद्मा भएको हमलाका मास्टर माइन्ड हुन् अफजल गुरु । उक्त हमलाको निकै वर्षपछि सन् २०१३ मा उनलाई आतंककारी घोषित गर्दै भारत सरकारले तिहाड जेलमा फाँसीको सजाय दियो । उनै अफजल गुरुको स्मृतिमा सन् २०१५ मा जेएनयूमा आयोजना गरिएको कार्यक्रम र भारतविरुद्घ लगाइएको भनिएको नारासँगै कन्हैया कुमारको कथाले कोल्टे फेर्छ ।
जेएनयूको तत्कालीन छात्र संघको अध्यक्ष भएको नाताले उक्त कार्यक्रमको निम्ति कन्हैया कुमारलाई पनि नैतिक रूपले जिम्मेवार ठहराइन्छ र उनीमाथि देशद्रोहको अभियोग लगाइन्छ । फाँसी दिनुअघि तिहाड जेलको जुन सेलमा अफजललाई थुनिएको थियो, त्यही सेलमा कन्हैया कुमारलाई पनि पन्ध्र दिन थुनिन्छ ।

जेलबाट जमानतमा छुटेपछि अब विश्वविद्यालयको छात्र संघको अध्यक्ष विश्वविद्यालयको मात्र पात्र रहँदैन, देशकै जल्दोबल्दो साझा मुद्दा बन्न पुग्छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय मिडियाले उनलाई पछ्याउन सुरु गर्छ । कन्हैया कुमारलाई दिइएको ‘राष्ट्रविरोधी’ को करारसँगै ‘राष्ट्रवाद के हो ?’ भन्ने सम्बन्धमा एकाएक तात्तातो बहस सुरु हुन्छ ।

कुनै एउटा अन्तर्वार्तामा कसैले कन्हैया कुमारलाई सोध्छ, ‘बेगुसरायको हावामा के छ, त्यस्तो जसले कन्हैया कुमारजस्तो जुझारु युवा जन्मायो ?’ बडो सटीक जवाफ दिन्छन् कन्हैया कुमार, ‘जसरी मूर्खहरूको कुनै गाउँ हुँदैन तर हर गाउँमा मूर्खहरू हुन्छन् । त्यसरी नै लडाकुहरूको कुनै गाउँ हुँदैन तर, हरगाउँमा लडाकुहरू हुन्छन् । बेगुसराय पनि त्यस्तै एउटा गाउँ हो र कन्हैया कुमार त्यही गाउँको युवा ।’

घृणा गर्नेहरूले उनलाई यतिसम्म घृणा गर्छन् कि कन्हैया कुमारजस्ता विद्यार्थी नेताहरूको कारणले समस्त जेएनयू बदनाम हुन पुगेको हल्ला पिंmजाइन्छ । जेएनयूलाई देशद्रोहीहरूको अड्डाको रूपमा चित्रण गर्न सुरु गरिन्छ । जेएनयूमा पढाइ हुन्छ कि देशद्रोहमा पीएचडी ? भन्ने प्रश्न आगो सल्केसरह सल्किन्छ देशभरि नै ।

माया गर्नेहरूले यतिसम्म माया गर्छन् कि उनको उदयलाई वैकल्पिक राजनीतिको नयाँ शक्तिकेन्द्रको रूपमा अथ्र्याइन्छ र आगामी आम निर्वाचनमा बेगुसरायबाट टिकट दिनेसम्मको हल्ला सुरु हुन्छ । उनको पक्षमा अरुन्धती रायजस्ता थुप्रै बुद्घिजीवीहरू एउटा कित्तामा उभिन्छन् भने शुभ्रास्थाजस्ता पत्रकारहरूचाहिं देश टुक्राउने र समाजको अमनचैन बिथोल्ने अभियानमा कन्हैया कुमारजस्ता अराष्ट्रिय तत्त्वहरूले डढेलो सल्काइरहेको खुल्लमखुला आरोप लगाउँछन् ।

यसरी केहीको नजरमा यिनी डरलाग्दो खलनायक हुन्छन् । केहीको नजरमा अकाट्य नायक । आफ्नो स्पष्ट र निर्भीक विचारका निम्ति चिनिएका कन्हैया कुमार मोदी सरकारको रवैयाप्रति जहिल्यै विरोध जनाइरहन्छन् । जनतालाई आश्वासन बाँडेर सरकारमा पुगेपछि केही काम नगरेकोमा रोष पोखिरहन्छन् । हुँदाहुँदा उनी प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘इन्साइक्लोपेडिया अफ फेक न्युज’ को संज्ञा दिनसमेत पछि पर्दैनन् ।

सत्तासँगको उनको दुश्मनीले पराकाष्ठा नाघ्दै गर्दा सन् २०१६ को उनीमाथि लगाइएको राजद्रोहको अभियोगले फेरि एकाएक मुन्टो उठाउँछ । जेएनयूको तत्कालीन छात्र संघको पूर्वअध्यक्ष हुनुको नाताबाहेक कन्हैया कुमारको उक्त अफजलवाला कार्यक्रमसँग कुनै संलग्नता नरहेको पहिले पनि सावित भएकै हो । कार्यक्रमको दौडान खिचिएको दसवटा भिडियो नै सीबीआईले फोरेन्सिक ल्याबमा जाँच गरेर भिडियोमा राष्ट्रविरोधी कुनै नारा नभेटिएको पुष्टि गरेकै हो ।

सामान्यतया घटनाको ९० दिनभित्र दर्ता गरेर अभियोग दाखिल गर्नुपर्नेमा घटनाको तीन वर्षपछि देशद्रोहीको अभियोग दाखेल हुनु मोदी सरकार र भाजपाले चुनावको ठीक तीन महिना अगाडि सारेको चुनावी तुरूप भएको अड्कलबाजी गरिएको छ ।

जेएनयू : प्रश्नहरूको कारखाना
भारत विरोधाभाषहरूले भरिएको देश हो । यहाँ एकातिर प्रश्नहरूको बीउ कसरी रोप्ने र फसल कसरी काट्ने भनेर सिकाइन्छ भने अर्कोतिर प्रश्न सोध्न निषेध गरिन्छ । रामकथा वाचक मुरारी बापुजस्ताहरू खुल्लमखुला भन्छन्— कसैले पनि मोदीको राष्ट्रवादमाथि प्रश्न सोध्न सक्दैन, औंला ठहराउन सक्दैन । अचम्म, त्यही प्रश्न सोध्न नसकिने र नपाइने देशमा प्रश्नकर्ताहरू उत्पादन गर्ने सबैभन्दा ठूलो कारखाना पनि छ ।

जेएनयूको सन्दर्भमा एउटा भनाइ निकै प्रचलित छ— जेएनयूमा प्रश्नहरूको उत्तर दिन होइन, उत्तरहरूमाथि नै प्रश्न गर्न सिकाइन्छ । त्यही विश्वविद्यालयको एउटा विद्यार्थी नेताले विद्यार्थी राजनीति मात्र गर्दैन, सरकारसँग आँखामा आँखा जुधाएर प्रश्न सोध्ने आँट पनि गर्छ । शिक्षकहरूले कस्तो गुणस्तरको शिक्षा दिइरहेछन् वा होस्टलमा बस्ने विद्यार्थीहरूका आम समस्या के–के हुन्जस्ता प्रश्नहरूमा मात्र होइन , किसान वा मजदुरका मुद्दामा पनि आवाज उठाउँछ ।

अस्ति भर्खर एउटा अन्तर्वार्तामा नयाँ शक्तिकी नेतृ मानुषी यमी भट्टराईले हाम्रो देशको विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयलाई ‘दासहरू उत्पादन गर्ने कारखाना’ को संज्ञा दिइन् । उनकै पिता नेता बाबुराम भट्टराई भने प्रश्नकर्ताहरू उत्पादन गर्ने कारखाना अर्थात् जेनएयूका उत्पादन हुन् । बाबुराम भट्टराई मात्र होइन, नेकपाका राजन भट्टराई, प्रकाश भट्टदेखि कांग्रेसका अमरेश सिंह पनि जेएनयूकै उत्पादन हुन् । यी नेताहरूले जेएनयूको डिग्रीसँगै जेएनयूको प्राज्ञिक र राजनीतिक उज्यालो कति बोकेर आए र यहाँ लागू गरे ? यो बेग्लै कुरा ।

जेएनयूलाई लिएर भाजपा नेता ज्ञानदेव आहुजाको बयानको पनि सर्वत्र चर्चाको विषय जो बन्यो । उनका अनुसार जेएनयूबाट प्रतिदिन ३००० बियरको केन, २००० रक्सीको बोटल, १०,००० चुरोटका ठुटाहरू, ४००० बिडीका टुक्राहरू, ५०,००० हड्डीका टुक्राहरू, २,००० चिप्सको प्याकेट, ३००० वटा प्रयोग गरिएका कन्डोम र ५०० वटा गर्भपतनका इन्जेक्सन फेला पर्छन् ।

ठीक यहींनेर कन्हैया कुमार प्रश्न गर्छन्, ‘ज्ञानदेवसँग यति धेरै खुफिया जानकारी छ कि जेएनयूबाट प्रयोग गरेर प्रतिदिन फालिने कन्डोमको संख्यासमेत बताउन सक्छन् उनी । त्यही खुफिया तन्त्रको प्रयोग गरेर जेएनयूबाट गायब नजीव अहमदहरू कहाँ छन् भनेर किन पत्ता लगाउन सक्दैनन् ?’

संक्रमित स्वतन्त्रता
रिपब्लिक अफ कास्टजस्तो किताब लेख्ने, महाड सत्याग्रह र खैरलांजी नरसंहारमाथि बोल्ने एउटा बागी विम्ब हुन् आनन्द तेलतुम्बडे । अनवरत दलित मुद्दामा बोल्ने र लेख्ने आनन्द तेलतुम्बडेजस्ता मानवाधिकार कार्यकर्तामाथि जातीय पहिचानको कुरा उठाएर सामाजिक सद्भाव भड्काएको भन्ने अभियोग लागेको छ । एकातिर तेलतुम्बडे ‘मलाई बचाउनुस्’ भनेर सार्वजिनक अपिल गरिरहेछन्, अर्कोतिर कन्हैया कुमारजस्तो विद्यार्थी नेतालाई देशद्रोहको आरोपमा जेलमा जकड्ने तयारी भइरहेको छ ।

प्लेटोले रिपब्लिक ग्रन्थमा लोकतन्त्रको सम्बन्धमा निकै गहकिलो कुरा भनेका छन्, ‘लोकतन्त्रलाई सबैभन्दा बढी खतरा ‘भित्र’ बाटै हुन्छ, ‘बाहिर’ बाट होइन । लोकतन्त्र प्राय: आफ्नै संक्रमणबाट पतनको बाटोमा जान्छ ।’ कन्हैया कुमारजस्ता विद्यार्थी नेताहरूसँग डराएर जब सिङ्गो मोदी सरकार नै उनीमाथि खनिन्छ, तब भारतको लोकतन्त्र हदैसम्म संक्रमित भइसकेकोमा शंका गर्नुपर्ने ठाउँ नै बाँकी रहन्न । लोकतन्त्र नै संक्रमित भएको देशमा नागरिक स्वतन्त्रता संक्रमित नहुने त कुरै भएन ।

यहाँनेर फ्रान्सका राष्ट्रपति चाल्र्स डी गालको उदाहरण सान्दर्भिक लाग्छ । फ्रान्सका राष्ट्रपति डी गालको विरुद्घमा दार्शनिक सात्र्र सधैं केही न केही लेखिरहने, बोलिरहने । कसैले एक दिन डी गाललाई सुझाव दिन्छन्, ‘तपाईं आफ्नोविरोधी साहित्यकार दार्शनिक सात्र्रलाई झ्यालखानामा थुन्नुहोस्, कुरै खत्तम हुन्छ ।’ डी गाल जवाफ दिन्छन्, ‘मैले किन सात्र्रलाई झ्यालखामा थुन्ने ? सात्र्र भनेकै हाम्रो देश हो । सात्र्र भनेकै फ्रान्स हो ।’

आफ्नो कट्टर विरोधीका प्रति डी गालको उदारताले सभ्य समाजका अगुवाहरूको मनोविज्ञानलाई दर्साउँछ । यता मोदी र मोदी सरकार यस मानेमा उल्टो पैताला हिँडिरहेका छन् यतिखेर । आफूमाथि लगाइएको देशद्रोहको अभियोग सम्बन्धमा कन्हैया कुमार स्पष्टसँग भन्छन्, ‘मैले मोदी सरकारको विरोध गरेको हुँ । मोदी सरकारको विरोध गर्नु देशको विरोध गर्नु होइन । के मोदी सरकार आफूले आफैंलाई देश ठान्छ ?’

जेएनयूकै विद्यार्थी नेतृ सेहला रसीदको तर्क पनि मननीय लाग्छ— कन्हैया कुमारलगायत अन्य विद्यार्थी नेताहरूमाथि देशद्रोहको आरोप चुनावको मुखमा भाजपाले आफ्नो बिर्सिएको ट्रम्प कार्ड प्रयोग गरेको हो । जब भाजपाले राष्ट्रविरोधी कार्ड खेल्छ, तब असम, उत्तर प्रदेश आदि राज्यहरूमा चुनाव जित्छ । राज्य विधानसभामा चुनावको हारपछि भाजपाले २०१९ को लोकसभा चुनावका लागि आफूले त्यही बिर्सिएको ट्रम्प कार्ड निकालेको छ । किसानको हकहित वा अन्य अर्थव्यसस्थाको मुद्दामा भाजपा शून्यको स्थितिमा छ ।

द्वापर युगको कन्हैया दहीको मट्का फुटाउँथ्यो । कलियुगको कन्हैया कुमार दहीको मटका होइन, प्रश्न र तर्कहरूको मटका फुटाउँछ । त्यसो त १९४७ मा नै भारत अंग्रेजहरूको चंगुलबाट स्वतन्त्र भएको हो । उतिबेलाको त्यो स्वतन्त्रता पूर्ण स्वतन्त्रता होइन भन्दै कन्हैया कुमार बहसको मिसाइल पड्काउँछ–अंग्रेजहरूबाट जुन स्वतन्त्रता मिल्यो त्यो फगत राजनीतिक स्वतन्त्रता हो । अंग्रेजका चेलाचपेटाहरूबाट जुन स्वतन्त्रता मिल्नेछ, त्यो सामाजिक स्वतन्त्रता हुनेछ र भारत अझै पनि सामाजिक रूपमा स्वतन्त्र राष्ट्र भइसकेको छैन ।

यसरी आफ्नो राष्ट्रको सामाजिक स्वतन्त्रताको कुरा गर्ने कन्हैया कुमारको आफ्नै व्यक्तिगत स्वतन्त्रता यतिबेला दाउमा छ । कठघरामा उभ्याइएको छ उनलाई र उनको नाममाथि देशद्रोहीको स्टिकर लगाइएको छ । यो स्टिकर कति सक्कली हो र कति नक्कली ? यो प्रश्न अहिले सबैको चासोको विषय बनेको छ । भनिन्छ— प्रेम र राजनीतिमा सबै कुरा जायज हुन्छ । कन्हैयामाथिको आरोप कति जायज वा नाजायज छ ? त्यसको मापन भारतको न्यायलय र लोकतन्त्रले गरोस्, न कि मोदीतन्त्रले।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button